Thread Rating:
  • 0 Vote(s) - 0 Average
  • 1
  • 2
  • 3
  • 4
  • 5
पूँजीवादी व्यवस्थाबाट विकसित क्रिप्टोकरेन्सी मुद्रा “बिटक्वाइन” ः एक चर्चा
#1
-मुरज दिदीया

मानव सभ्यताको विकाससँगसँगै मानिसहरूले आफूसँग बढी भएका वस्तुहरू आफूलाई आवश्यक परेका वस्तु तथा सरसामानहरूसँग एक अर्कामा साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्दथे । यसलाई वस्तु विनिमय प्रथा भनिन्छ । यस प्रणालीमा नीहित असुविधाहरूका कारण हाल यो प्रथा लोप भएको छ भने यसको विकल्पको रुपमा विनिमयलाई सहज बनाउन विभिन्न युगमा गाई वस्तु, दुर्लभ जनावरका छाला, दन्त र हड्डी, नुन्, सुर्ती, कपडा, विभिन्न धातुका सामानहरू जस्ता वस्तुहरूलाई मुद्राको रुपमा प्रयोगमा ल्याए । सबै ठाउँका मुद्राहरूलाई एकरुपता बनाउन सुन–चाँदीजस्ता बहुमूल्य धातुका मुद्राहरू प्रयोगमा आएको पाइन्छ । मानवीय आवश्यकता तथा सभ्यताको विकाससँगसँगै धातु मुद्राभन्दा सजिलो र सहज हुने कागजी मुद्रा हँुदै साख मुद्राहरूको आविस्कार गरी हाल साख मुद्रा नै बढी प्रचलनमा छ ।
सूचना प्रविधिको विकाससँगसँगै ओपनसोर्स सफ्टवेयरमा आधारित भर्चुअल (अभौतिक) मुद्रा अर्थात डिजिटल मुद्रा बिटक्वाइनको कारोबार बढ्दै गएको छ । यसलाई क्रिप्टोकरेन्सी पनि भनिन्छ । यसको आविष्कार कसले ग¥यो भने कुरा हालसम्म अज्ञात छ । सातोशी नाकामोटो नामबाट अज्ञात कम्प्युटर प्रोग्रामर वा यसका समूहले सन् २००९ मा बिटक्वाइन लन्च गरेका थिए । सुरुआतमा अनलाईनमा गेम खेल्ने र अनलाइनमा काम गरी पैसा कमाउने गिरोहले रमाइलोको लागि कारोबार तथा माइनिङ गरेका थिए । पछि भविष्यमा कागजी मुद्रा र धातुका सिक्कालाई विस्थापित गरी डिजिटल मुद्रा नै चल्छ भन्ने हल्लाले तीव्र रुपमा यसको आदानप्रदान हुन थाल्यो । यो हल्ला व्यक्ति व्यक्ति हँुदै झन् झन् फैलिंदै गयो र मानिसहरूले यसको सञ्चित गर्न थाले । बजारमा यसको चासो र पूर्तिको तुलनामा माग बढ्दै गएपछि मानिसहरूले पैसा तिरेर बिटक्वाइन किन्न थाले । बिस्तारै बिस्तारै यो फैलिंदै गएर विश्वव्यापीरुपमै प्रचलनमा आउन थाल्यो । मुद्राले गर्ने कार्यमध्य बिनिमयको माध्यम र मूल्य सञ्चय कार्य गर्न बिटक्वाइनलाई प्रयोग गरेको पाइन्छ । यो कुनै पनि देशको मौद्रिक निकायबाट आधिकारिक रुपमा जारी गरिएको मुद्रा होइन । यसको कारोबारमा कुनै कर पनि लाग्दैन भन्ने मान्यताले पनि विश्वमा यसको मोह फैलिंदै गयो । हाल यो विश्वका अमेरिका, युरोपियन देशहरू, अष्ट्रेलिया, इंगल्याण्ड, जापान, कोरिया, क्यानाडा, सिंगापुर, इजरायललगायतका धेरै देशहरूमा बिटक्वाइन बैधतासँगै प्रचलनमा छ भने नेपाल, भारत, बङ्गलादेश, रसिया, थाइल्याण्ड, आइसल्याण्ड, भियतनाम आदि मुलुकहरूमा अबैध छ ।
कम्प्युटर सफ्टवेयरको सहायताले बिटक्वाइन सिर्जना हुने हुनाले यसलाई देख्न र छुन सकिन्न । यसलाई डिजिटल वालेटमा स्टोर गरिन्छ । जसलाई ब्लकचेन भनिन्छ । इन्टरनेटको सहायताले एप्लिकेसन डाउनलोड गरी स्मार्ट फोन वा कम्प्युटरमा इन्स्टल गरेर बिटक्वाइन स्टोर गर्न सकिन्छ । यो मुद्रा आफ्नो डिभाइसमै पासवर्डमार्फत् सुरक्षित राखिने हुनाले यसलाई कसैले चोर्न वा नष्ट गर्न सक्दैन । आफूसँग रहेको भौतिक रुपैयाँ पैसाबाट बिटक्वाइन किनेर पनि सञ्चित गर्न सकिन्छ ।
भौतिक मुद्रा कुनै पनि देशको केन्द्रिय बैङ्क वा सरकारको नियन्त्रणमा जारी हुन्छ भने बिटक्वाइन ओपन सोर्स सफ्टवेयरमार्फत् जो कोहीले पनि माइनिङ गरी तयार गर्न सकिन्छ । माइनिङ सफ्टवेयरमार्फत् विश्वका धेरै व्यक्तिहरूले माइनिङ गरिरहेका हुन्छन् । एक व्यक्तिले आफूसँग भएको बिटक्वाइन अर्काे व्यक्तिलाई ट्रान्सफर गरी ट्रान्सफर कन्फर्म भएपछि मात्र कारोबार सफल हुन्छ । यसको लागि १० मिनेटको समय लाग्छ । विश्वका विभिन्न ठाउँबाट धेरै व्यक्तिहरूले माइनिङ गरिरहने हुनाले प्रत्येक १० मिनेटमा १२.५ बिटक्वाइनमात्र सिर्जना हुन्छ र यो माइनिङ गर्नेहरू सबैको खातामा बाँडिएर प्राप्त हुन्छ । त्यसैले यो जोसुकैले जति पनि सिर्जना गर्न सकिन्न । यो एक नियममा आधारित रहेको हुन्छ । हरेक ४ वर्षमा प्रति १० मिनेटमा सिर्जना हुने बिटक्वाइनको सङ्ख्या आधा हुंदै जान्छ । जस्तो सुरुको समयमा माइनिङबाट १० मिनेटमा ५० बिटक्वाइन निस्कन्थ्यो भने ४ वर्षपछि प्रति १० मिनेटमा २५ बिटक्वाइन निस्कन्थ्यो र अहिले यो प्रति १० मिनेटमा १२.५ मा झरेको छ । साधारण कम्प्युटरको माध्यमबाट माइनिङ गर्दा बिटक्वाइनका ससाना इकाई मुद्राहरूमात्र सिर्जना हुने गर्दछ । शक्तिशाली मेशीन प्रयोग गरी माइनिङ गर्दा छिटो हुने भएकोले शक्तिशाली माइनिङ मेशीनहरूको प्रयोग गरिन्छ ।
रुपैयाँको सानो अंश पैसा भनेजस्तै बिटक्वाइनको सानो अंशलाई सटोशी भनिन्छ । १ बिटक्वाइनमा १० करोड सतोशी हुन्छ । सुरुमा ५० बिटक्वाइन सिर्जना गरेका थिए । यसको सिर्जनामा पनि एक निश्चित सीमा हुन्छ । विश्वमा जम्मा जम्मी २ करोड १० लाख बिटक्वाइन सिर्जना भएपछि नयाँ बिटक्वाइन सिर्जना बन्द हुनेछ । हाल कुल बिटक्वाइनको ७५ प्रतिशत सिर्जना भइसकेको समाचारमा आइसकेको छ ।
बिटक्वाइनको कारोबारले अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने हुनाले कतिपय देशहरूले यस मुद्रालाई अवैध घोषणा गरी यसको कारोबारमा समेत रोक लगाएका छन् । नेपालमा पनि २०७४ साल श्रावण २९ गते नेपाल राष्ट्र बैङ्कले एउटा सूचना प्रकाशित गरी यसको कारोबारमा प्रतिबन्ध लगाएको छ । केही कारोबारीलाई पक्राउ पनि गरेको थियो । फेसबुकहरूमा यसको विज्ञापनमा रोक लगाएको भए तापनि अझै पनि फेसबुक पेजहरू सिर्जना गरेर यसको प्रचारप्रसार गरी कारोबार गरिरहेका छन् । बिटक्वाइन सन् २००९ मै लन्च गरिएको भए तापनि नेपालमा भने सन् २०१३ पश्चात् मात्र कारोबार हुन थालेको हो । राष्ट्र बैङ्कका अनुसार नेपालमा करिब १० हजारसँग १ लाख बिटक्वाइन रहेको अनुमान गरिएको छ । जुन हालको मूल्यअनुसार झण्डै ९३ अर्ब बराबरको छ ।
नेपालमा कानुनीरुपमा अबैध भए तापनि धेरैले बिटक्वाइनमा लगानी गरेर यसको सञ्चिति बढाएका छन् । तर यसको कारोबारको आकार कति छ र कति नेपालीहरू यसमा संलग्न भएका छन् भन्ने स्पष्ट भएको छैन । कसैले यहिबाट लगानी गरिरहेका छन् भने कसैले विदेशमा रहेका साथीभाई तथा आफन्तहरूको माध्यमबाट लगानी गरिरहेका छन् । यसको कारोबार सेयर बजारसँग मिल्दोजुल्दो छ र बिटक्वाइन जुनसुकैबेला बेच्न सकिने हुनाले अधिकांश नेपालीहरूले महँगो मूल्यमा यसको बिक्री गरी लाभ लिने उद्देश्यले लुकीछिपी लगानी गरिरहेका छन् । यसको मूल्यमा पनि उतारचढाव भइरहन्छ । सन् २००९ मा लन्च भएको बिट्क्वाइनको मूल्य सन् २०१० मा आइपुग्दा १० सेन्ट मात्रै थियो भने सन् २०१३ को नोभेम्बर महिनामा ९७९ डलर सम्म पुग्यो । सन् २०१७ को डिसेम्बर महिनामा यसको मूल्य झण्डै १९,००० डलरसम्म पुग्यो ।
यो मुद्राबाट कतिपय देशहरूमा अन्य मुद्रासरह भुक्तानी गरी विभिन्न सामान तथा सम्पत्ति किनबेचमा समेत प्रयोग हुन थालेकोले विश्वभरी नै अनियन्त्रित तथा अबैध कारोबार हुने चुनौती बढेको छ । यो मुद्राको माध्यमबाट एक देशबाट अर्काे देशमा अवैध मुद्रा स्थानान्तरण (जुन पहिला हुण्डीमार्फत गर्थे), कालो धन सेतो बनाउन सम्पत्ति शुद्धिकरण, आतङककारी क्रियाकलाप, अपहरणमा फिरौति माग्ने, मानव बेचबिखन, लागूपदार्थ ओसार–पसारजस्ता अन्य वित्तीय आपराधिक कारोबारहरूमा समेत प्रयोग हुने सम्भावना बढेको छ । जस्तै, एक व्यक्तिले नेपालबाट अमेरिकामा कसैलाई पैसा भुक्तानी गर्न बिटक्वाइनमार्फत् पठाइदिए अमेरिकामा उक्त बिटक्वाइन पाउनेले चाहेको बेला तुरुन्त नगदमा परिणत गर्न सक्छ । अमेरिकामा बिटक्वाइन बैध भएकोले उक्त देशमा बिटक्वाइनमार्फत् भुक्तानी गर्न सकिन्छ ।
स्वदेशबाट अन्य देशमा मुद्रा स्थानान्तरण गर्न प्रयोग हुने अबैध माध्यम हुन्डीको ठाउँमा अनलाइनमार्फत् बिटक्वाइन कारोबार सजिलो हुने भएकोले यसको प्रयोगबाट नेपालजस्तो गरिब तथा सोझासिधा सर्वसाधारणको पैसा विदेशिने सम्भावना बढ्न सक्छ । नेपालमा पक्राउ परेका बिटक्वाइन कारोबारीहरूबाट पनि नेपालबाट पैसा विदेशिएको तथ्य फेला पारे तापनि कति पैसा बाहिरियो भन्ने यकिन तथ्याड्ढ पत्ता लगाउन सकिएको छैन । पक्राउ परेकामध्य अधिकांश अभियुक्तहरू विगतमा विभिन्न नेटवर्किङ मार्केटिङ (युनिटि, हर्बाे इन्टरनेशनललगायत) मा संलग्न, अमेरिकामा लामो समय बसोबासबाट बिटक्वाइनबारे ज्ञान हासिल गरी नेपाल फर्केका, कमोडिटी तथा डेरिभेटिभ मार्केटमा संलग्न व्यक्तिहरू रहेको भेटिएका छन् ।
विगतका वर्षहरूमा युनिटी लाइफ, हर्बाे इन्टरनेशनल, डी.एक्स.एन., मेडी केयर, गोल्ड क्वेस्टजस्ता थुप्रै नेटवर्किङ मार्केटमा सर्वसाधारणले चाँडै धनलाभ गर्ने लोभले अर्बाै रुपैयाँ फसाएका थिए । बिटक्वाइनको मूल्यमा पनि अस्थिरताका कारण यसलाई सञ्चित गरेर लाभ प्राप्त गर्न लुकिछिपी यसमा लगानी गर्ने सर्वसाधारणहरू एक दिन आफ्नो पैसा फसाउन सक्छन् । विश्वकै ठूलो हेज फण्डका संस्थापक रे डालियोले पनि बिटक्वाइनलाई पानीको फोकासँग तुलना गरी कुनै पनि बेला यो बन्द हुने कुरा एक अन्तरवार्तामा व्यक्त गरेका थिए । यो मुद्रा कुनै विनिमय प्रणालीमा आएको कठिनाईबाट आविष्कार भएको नभई कुनै कम्प्युटर प्रोग्रामरबाट सिर्जित भएकोले भविष्यमा यसको अस्तित्वमा नै शंका गर्न सकिन्छ । बिटक्वाइन अनलाइनमा भिसा तथा मास्टर कार्डद्वारा यसको मूल्य तिरेर किन्न सकिने हुनाले अनलाईनबाट बिटक्वाइन किन्नका लागि विभिन्न बंैक कार्डद्वारा हुने भुक्तानीहरूलाई सरकारले कडा निगरानी राखेर नियन्त्रण गर्नु आवश्यक छ र बिटक्वाइनबारे सबैजना सचेत हुनुपर्ने बेला आएको छ ।
नेपाल कर्मचारी समाजको ‘सन्देश’ बुलेटिनबाट


Source: https://onlinemajdoor.com/?p=13414
Reply


Forum Jump:


Users browsing this thread: 1 Guest(s)